एजेन्सी, १६ असार । कोरोना भाइरसको उत्पतिको विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विशेषज्ञको एक टोली चीन जाने भएको छ।

गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर एक करोड भन्दा बढी मानिस संक्रमित भएका छन्। त्यसमध्ये पाँच लाख भन्दा बढीको ज्यान गइसकेको छ।

कोरोना भाइरसको उत्पति वा त्यसको जन्मबारे खोजी गर्नका लागि डब्लुएचओको विज्ञ टोली आउँदो हप्ता चीन जाने डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका हुन्।

भाइरसका बारेमा सबैकुरा थाहा भएपछि मात्रै त्यसविरुद्ध सही तरिकाले लड्न सकिने भएकाले अध्ययन गरिन लागेको उनले बताए।

विज्ञ टोलीले कोरोना भाइरसको सम्पूर्ण पक्ष पत्ता लगाउने प्रयास गर्ने र त्यसको जन्म वा उत्पति बारे पनि खोजी हुने डा. टेडरोजले बताएका छन्।