काठमाडाैं। एक साइबर सेक्योरिटी फर्मका अनुसार एक अर्ब भन्दा बढी एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेट प्रयोगकर्ताहरुका पर्सनल डाटाहरु माथि साइबर हमलाको खतरा बढेकाे एक अध्ययनले देखाएकाे छ।

बेलायती पत्रिका द सनको एक रिपोर्ट अनुसार प्रयोगमा रहेका हरेक पाँच स्मार्ट फोन मध्ये पूरानो मोडेलका दुई स्मार्ट फोनहरुमा गुगलले आवश्यक सेक्योरिटी अपडेट उपलब्ध नगराएका कारण प्रयोगमा रहेका स्मार्ट फोनमा जरुरी सेक्योरिटी अपडेटको अभावले गर्दा स्मार्ट फोन प्रयोगकर्ताका डाटा चोरी तथा अन्य भाइरस आक्रमणको खतरा बढेको हो ।

शोधकर्ताहरुका अनुसार गुगलले एन्ड्रोइड डिभाइसहरुलाई ह्याकरबाट बचाउनका लागि समय समयमा सेक्योरिटी अपडेट दिँदै आएको हुन्छ। तर पूराना एन्ड्रोइड स्मार्ट फोनहरुसम्म यो अत्यावश्यक अपडेट पुग्न सकेको छैन। शोधकर्ताहरुले केही एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेटहरुलाई प्रयोगशालामा परीक्षण गरेका थिए र त्यस क्रममा ती स्मार्ट फोनलाई सजिलैसँग ह्याक गर्न सकिने तथ्य पत्ता लागेको थियाे।

ह्याकिङको अत्यधिक जोखिममा रहेका एन्ड्रोइड स्मार्टफोनमा गुगल, एलजी, मोटोरोला, सामसुङ तथा सोनी लगायतका कम्पनीका पूराना स्मार्टफोन रहेका छन्। सन् २०१२ भन्दा अघि लञ्च भएका स्मार्ट फोन प्रयोग गर्ने प्रयोगकर्तामा साइबर हमलाको अत्यन्तै जोखिम रहेकाे शाेधले देखाएकाे छ।