काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीको चार्जिङ स्टेसनका लागि यातायातका विद्युतीय सवारी साधन चार्ज गर्ने महसुल दर प्रस्ताव गरेको छ।

स्टेसन सञ्चालकले अधिकतम् २० प्रतिशतसम्म मात्र मुनाफा लिन पाउने गरी विद्युत नियमन गर्न प्रस्ताव गरेको हो । प्राधिकरणले आयोगसँग मौसमी रुपमा र विहान, दिउँसो र बेलुका मूल्य फरक लिनुपर्ने गरी महसुल तोक्न प्रस्ताव गरेको जनाएको छ।

प्राधिकरणको उक्त प्रस्ताव स्वीकृत भएमा सवारी चार्ज गर्दा समयअनुसार प्रतियुनिट ५.३४ रुपैयाँदेखि १४ रुपैयाँ ४ पैसासम्म तिर्नुपर्नेछ। वर्षा यामको वैशाखदेखि मंसिर महिना सम्म रातको समयममा चार्ज गर्न सबैभन्दा सस्तो पर्ने छ भने हिउँदमा पुसदेखि चैतसम्म पिक समयमा सवारी चार्ज गर्दा सबैभन्दा महंगो मूल्य तिर्नुपर्ने उल्लेख छ।

प्राधिकरणले सार्वजनिक यातायातको चार्जिङ स्टेसनलाई रात -राती ११ देखि विहान ५ बजेसम्म) मा चार्ज गर्दा कम शुल्क प्रस्ताव गरेको छ । सरकारले चार्जिङ स्टेसनले विद्युतको डिमान्ड शुल्क तिर्ने वा वा स्वाप सुविधा दिएर नतिर्ने दुबै विकल्प खुला राखेर महसुल तोक्न प्रस्ताव गरेको जनाएको छ।