एजेन्सी, ४ माघ । प्राइभेसी पोलिसीमा गरिएको परिवर्तनपछि आलोचना झेलिरहेको ह्वाट्सएपले आफ्नो कदम पछि हट्ने निर्णय गरेको छ।

कम्पनीले ल्याएको नयाँ प्राइभेसी पोलिसीलाई अहिलेको लागि स्थगित गरिएको छ। यसका साथै कम्पनीले आफ्नो ड्यामेज कन्ट्रोलमा लागेको छ। कैयौंपटक स्पस्टीकरण दिएपछि आइतबार कम्पनी प्राइभेसी पोलिसीको बारेमा प्रयोगकर्तासमक्ष पुगेका छन्।

ह्वाट्सएपले पछिल्लो समय आफ्नो प्राइभेसी पोलिसी परिवर्तन गर्दै प्रयोगकर्तालाई नोटिफिकेसन पठाउन थालेको थियो। ह्वाट्सएप प्रयोग गर्नका लागि प्रयोगकर्ताले ८ फ्रेब्रुअरी २०२१ सम्म उसका सम्पूर्ण शर्तहरु पालना गर्नुपर्ने बताइएको थियो।

त्यसपछि सुरु भएको बहस र चर्काे दबावपछि कम्पनीले उक्त पोलिसी नै स्थगित गर्नुपर्ने अवस्थामा आएको हो। कम्पनीले आइतबार चारवटा स्टाटस राखेर प्राइभेसी पोलिसीको बारेमा प्रस्ट पारको छ।

ह्वाट्सएपले कम्पनी प्रयोगकर्ताको प्राइभेसी वा निजी जानकारी गोप्य राख्न प्रतिबद्ध भएको जानकारी दिँदै प्रयोगकर्ताको प्राइभेट च्याट र अडियो कसैले पनि पढ्न र सुन्न नसक्ने जनाएको छ। यस्तै कम्पनीले प्रयोगकर्ताले शेयर गरेको लोकेसनलाई ट््रयाक नगर्ने गरेको स्पस्ट पारेको छ।

त्यसैगरी उसले आफ्नो मातृकम्पनी फेसबुकसँग प्रयोगतकर्ताको सम्पर्कलाई सेयर गर्ने नगरेको पनि जानकारी दिएको छ । प्रयोगकर्ताले कति जानकारी फेसबुकसँग सेयर गर्ने र कति नगर्ने भन्नेबारेमा कम्पनीले दबाब नदिने समेत ह्वाट्सएपले स्पस्ट पारेको छ।