काठमाण्डौ, २७ जेठ । नेपालमा २० जनासम्म ग्रुप भिडियो कल गर्न सकिने सेवा भाइबरले सुचारु गरेको छ। सामाजिक दूरीको नियम र मानिसहरूमाझ समूहगत भेटघाटमा रोक लागेका कारणले अनलाइन छलफलका लागि यो सेवा लाभदायक हुने भएको बताईएको छ। 

डेस्कटप कम्प्युटर तथा मोबाइल दुवैमा भाइबर एपमार्फत भाइबर ग्रुप कल सजिलै सञ्चालन गर्न सकिन्छ। त्यसकालागि स्क्रिनको माथिल्लो छेउमा भएको नयाँ ‘भिडियो’ बटन दबाएर भिडियो कलमा थप सहभागीहरूलाई सजिलैसँग थप्न सकिन्छ। 

ग्रुप भिडियो कलले वक्तालाई सबै सहभागीहरूमाझ भिडियो प्रदर्शन गर्ने मौका दिन्छ । प्रयोगकर्ताले कलको दौरानमा आफ्नो व्यक्तिगत स्क्रिनमा कोही एकको भिडियो निजी रूपमा पिन गर्न सक्छ । साथै, प्रयोगकर्ताले आफ्नो भिडियो बन्द गर्न र आफैँलाई म्युट राख्न पनि सक्नेछ।