एजेन्सी, १२ चैत्र । विश्व विजेता फ्रान्सले विश्वकप छनौट चरणको सुरुवात बराबरीबाट गरेको छ।
युरोपेली क्षेत्रको छनौट अन्तर्गत गएराति भएको आफ्नो पहिलो खेलमा फ्रान्स युक्रेनसँग १–१ को बराबरीमा रोकिएको हो।
घरेलु मैदानमा भएको खेलमा फ्रान्सका लागि १९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेर सुरुवाति अग्रता दिलाएका थिए।
तर ५७ औँ मिनेटमा फ्रान्सका प्रेसनल किम्पेम्बेले आत्मघाती गोल गरेपछि युक्रेन बराबरीको अवस्थामा आएको हो।
त्यसपछि थप गोल हुन सकेन र फ्रान्स बराबरीमै रोकियो। समूह डी अन्तर्गत नै भएको अर्को खेलमा फिनल्याण्ड र बोसनिया हर्जगोविनाले २–२ को बराबरी खेलेर अंक बाँडेका छन्।
यता युरोपियन छनोटको अर्को खेलमा भने बेल्जियमले वेल्समाथि पूनरागमन जित निकालेको छ।
घरेलु मैदानमा गयराति भएको खेलमा बेल्जियमले वेल्सलाई ३–१ ले पराजित गरेको हो।
बेल्जियमको जितमा केभिन डि ब्रुयन, थोर्गन हाजार्ड र रोमेलु लुकाकुले गोल गरे।
वेल्सका ह्यारी विल्सनको एक गोल गरे। जितपछि समूह ‘ई’ मा बेल्जियमले ३ अंक जोडेको छ।
यही समूहको अर्काे खेलमा चेक रिपब्लिकले इस्टोनियामाथि ६–२ को सानदार जित हात पारेको छ।