एजेन्सी, १० चैत्र । इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर लामेलु लुकाकु कोरोना भाइरसबाट संक्रमित नभएको पुष्टि भएसँगै राष्ट्रिय टिमबाट खेल्ने सम्भावना बढेको छ।
इन्टर मिलानका धेरै खेलाडी तथा पदाधिकारीमा संक्रमण देखिए पनि लुकाकुको रिपोर्ट भने नेगेटिभ आएको हो।
गोलरक्षक समिर हान्डोनोविकसहित चार खेलाडीमा संक्रमण पुष्टि भएपछि गएको शनिबार सिरी ए मा सासुओलोसँगको खेल रोकिएको थियो।
सुरुमा सिरी ए लिडर इन्टर मिलानले आफ्ना खेलाडीहरुलाई राष्ट्रिय टिमको जिम्मेवारीका लागि नपाउने गरि इटाली छोड्न नपाउने भनेको थियो।
बेल्जियमले विश्वकप २०२२ को छनौट चरण बुधबार वेल्ससँगको खेलबाट सुरु गर्ने छ। संक्रमण नभएका लुकाकु पनि बेल्जियमको टिममा सामेल हुने सम्भावना बढेको छ।
बेल्जियमले आउँदो शनिबार चेक गणतन्त्र तथा अर्को मंगलबार बेलारुससँग खेल्ने छ। चोटका कारण इडन हजार्ड र एलेक्स विट्सल भने टिममा हुने छैनन्।