एजेन्सी, २३ फागुन । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले महत्वपूर्ण जित दर्ता गरेको छ।
अवे मैदानमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० ले पराजित गरेको हो। बार्सिलोनाको जितमा जोर्डी अल्बा र १८ वर्षे किशोर इलाइज मोरिबाले गोल गरे।
दुवै गोलमा लियोनल मेस्सीले सहयोग गरेका हुन्। अल्बाले ३० औँ तथा मोरिबाले ८३ औँ मिनेटमा गोल गरेका हुन्।
जितपछि दोस्रो स्थानको बार्सिलोनाको २६ खेलबाट ५६ अंक भएको छ। दुई खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ५८ अंक र एक खेल कम खेलेको तेस्रो स्थानको रियल मड्रिडको ५३ अंक छ।
ला लिगाका अन्तर्गत शनिबार राति भएका अरु खेलमा रियल भालाडोलिडले गेटाफे तथा एल्चीले सेभिल्लालाई समान २–१ तथा काडिजले एइबरलाई १–० ले पराजित गरेका छन्।