काठमाडौं, ७ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट राष्ट्रिय महिला लिग सुरु हुँदैछ। महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ। एन्फाले निकालेको पहिलो चरणको खेल तालिका अनुसार उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन।
पहिलो पटक बृहत रुपमा आयोजना गर्न लागेको महिला लिगको उद्घाटन खेलमा एन्फाले दर्शकलाई निशुल्क प्रवेशको सुविधा दिएको छ। उद्घाटनपछिका अन्य खेलहरु भने एन्फाको मैदान सातदोबाटोमा हुनेछन। पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ।
तीन विभागीय टोली (शसस्त्र प्रहरी बल एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब) सहित चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन। महिला लिग पहिलो पटक नयाँ ढाँचामा आयोजना हुन लागेको हो।
यस पटकको महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडी समेत राख्न पाउनेछन। प्रतियोगितोको विजेता टोलीले १० लाख प्राप्त गर्दा दोस्रोले ८ लाख , तेस्रोले ५ लाख , तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन।