एजेन्सी, ५ माघ । लियोनल मेस्सीले बार्सिलोनाको खेल जीवनमा पहिलोपटक रातो कार्ड पाएका छन्।
स्पेनिस सुपर कपको आइतबार राति भएको फाइनल खेलमा मेस्सीले रातो कार्ड पाएका हुन्। बार्सिलोनालाई पराजित गरेर एथ्लेटिको बिल्बाओले स्पेनिस सुपर कपको उपाधि जितेको छ।
बार्सिलोनाबाट ७५३ औँ खेलमा सहभागी भएका मेस्सीले अतिरिक्त समयको अन्तिम समयमा रातो कार्ड पाएका हुन्। भिएआर मार्फत घटनाको रिभ्यू गरिएपछि मेस्सीलाई रातो कार्ड दिइएको हो।
बार्सिलोनाले दुईपटक एन्टोनी ग्रिजम्यानको गोलबाट अग्रता लियो। तर एथ्लेटिको बिल्बाओका लागि ओस्कार डी मार्कोस र भिल्लालिब्रेले बराबरी गोल गरे। अन्तिम समयमा इनाकी विलियम्सले एथ्लेटिकोका लागि विजयी गोल गरे।
एथ्लेटिको बिल्बाओले सन् १९८५ यता दोस्रो पटक उपाधि जितेको हो।
१२० औँ मिनेटमा बिल्बाओका गोलरक्षक भिल्लालिब्रेसँग मेस्सीको टकराव भएको थियो। सोही कारण उनले रातो कार्ड पाएका हुन्। मेस्सी यसअघि दुईपटक रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए, ती दुवै समय उनले राष्ट्रिय टिमबाट खेलेका थिए।
बार्सिलोनाबाट पहिलोपटक रातो कार्ड पाएका मेस्सीमाथि कम्तिमा चार घरेलु खेलमा प्रतिबन्ध लाग्न सक्ने छ।