काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला क्रिकेट प्रतियोगिता पुस ११ गतेदेखि सुरु हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियाेगिताकाे मिति तय गरेकाे हाे। पुस ११ बाट काठमाडौंमा सुरु हुने प्रतियाेगिताका लागि जिल्ला छनोटको काम अघि बढाउन निर्देशन दिइसकिएकाे क्यानले जनाएकाे हो।

मंसिर २१ गते भित्र जिल्ला छनोट मंसिर सकेर प्रादेशिक क्रिकेट संघ र केन्द्रमा जानकारी गराउन क्यानले निर्देशन दिएको हाे। छनोट प्रतियोगिता सञ्चालन गर्दा जिल्ला प्रशासन तथा स्थानीय तहबाट स्वीकृती लिन क्यानले आग्रह गरेको छ।

क्याले टाेली छनाेटकाे जिम्मेवारी जिल्ला संघलाई दिएकाे छ। जिल्ला टाेली तयारीका लागि संघबाट २० हजार र एक दर्जन वल दिइने पनि क्यानले जनाएकाे छ।

क्यानले प्रधानमन्त्री कप प्रादेशिक प्रतियोगिता पुस ७ गतेभित्र सम्पन्न गर्नुपर्ने भएकाले सम्बन्धित प्रादेशिक क्रिकेट संघसँग समन्वयमा रहन पनि आग्रह गरेको छ।

सरकारले खेलकुद गतिविधि सञ्चालन गर्न स्वीकृति दिएसँगै खेलाडीहरूलाई प्रशिक्षण, प्रतियाेगिता मिति लगायत काम थालिएकाे छ। काेराेना जाेखिमका कारण गत चैत यता खेल गतिविधि ठप्प थिए।

नेपाली राष्ट्रिय क्रिकेट टाेली यही मंसिरदेखि बन्द प्रशिक्षणमा जुटेकाे छ। नेपाली राष्ट्रिय फुटबल टाेलीले पनि कात्तिक २८ र मंसिर २ मा बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलिसकेकाे छ।

काेराेना महामारीबीच पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अरू खेलकुद गतिविधि समेत विस्तारै सुरू हुँदै छन्।