एजेन्सी, १२ मंसिर । भारत र अष्ट्रेलियाबीचको तीन खेलको एक दिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा शुक्रबार अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको छ।

सिड्नीमा टस जितेर पहिलो व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ७५ रन बनाएको थियो।

अष्ट्रेलियका लागि डेविड वार्नरले ६९, आरोन फिन्चले ११४, स्टिभन स्मिथले १०५ र ग्लेन म्याक्सवेलले ४५ रन बनाए।

बलिङतर्फ भारतका मोहम्मद शामीले तीन तथा जसप्रित बुमराह, नवदीप सैनी र युवेन्द्र चाहलले एक–एक विकेट लिए।

३७५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३ सय ८ रन मात्रै बनाउन सक्यो।

भारतका लागि हार्दिक पाण्ड्याले ९०, शिखर धवनले ७४, नवदीप सैनीले २९, रविन्द्र जडेजाले २५, मयंक अग्रवालले २२ र विराट कोहलीले २१ रन जोडे पनि जीतका लागि प्रयाप्त भएन।

भारतमाथि जित दर्ता गर्न अष्ट्रेलियाका अदम जम्पाले चार, जोश हेजल्वुडले तीन र मिचेल स्टार्कले एक विकेट लिए।