काठमाडौं, ३ मंसिर । जर्मनीमाथि शानदार जित दर्ता गरि स्पेन युरोपियन नेशन्स लिग फुटबलको फाइनल्समा स्थान बनाउन सफल भएको छ।

मंगलबार राति भएको समूह ए फोर अन्तर्गतको खेलमा स्पेनले जर्मनीमाथि ६–० को जित दर्ता गरेको हो। घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा तीन गोल गरेको स्पेनले दोस्रो हाफमा थप तीन गोल गरेको हो।

स्पेनका लागि फेरान टोरेसले खेल जीवनकै पहिलो ह्याट्रिक गरे । उनले ३३, ५५ र ७१ औँ मिनेटमा गोल गरेका हुन्। यस्तै अल्भारो मोराटाले १७ औँ, रोड्रीले ३८ औँ तथा मिकेल ओयार्जाबाले ७१ औँ मिनेटमा गोल गरेपछि स्पेन ६–० ले विजयी भएको हो।

जितपछि समूहको शीर्ष स्थानमा पुगेको स्पेन जर्मनीको सपना टुटाएर फाइनल्समा पुग्न सफल भएको हो।

नेशन्स लिग अन्तर्गत मंगलबार राति भएका अरु खेलमा लात्भियाले एन्डोरालाई ५–० तथा मोन्टेनेग्रोले साइप्रसलाई ४–० ले पराजित गरेका छन्।

यस्तै माल्टा र फारोइ आइल्याण्ड तथा जिब्रालटार र लिचेस्टाइनले १–१ र लग्जेम्बर्ग तथा अजरबैजानले गोल रहित बराबरी खेलेका छन्।