एजेन्सी, २३ कार्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ५–२ को जित दर्ता गरेको छ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १–१ को बराबरी भए पनि दोस्रो हाफमा बार्सिलोनाले चार गोल थपेको हो।

उसका लागि २२ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए।

पहिलो हाफको इन्जुरी समयमा सानाब्रियाले रियल बेटिसका लागि बराबरी गोल फर्काए। ४९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरि बार्सिलोनालाई पुनः अग्रता दिलाएका थिए।

६० औँ मिनेटमा म्यान्डी सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल बेटिस १० खेलाडीमा सीमित भयो। थप खेलाडीका रुपमा मैदान छिरेका लियोनल मेस्सीले ६१ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे।

उनले ८२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। त्यसअघि मोरोनले ७३ औँ मिनेटमा रियल बेटिसका लागि दोस्रो गोल गरेका थिए।

९० औँ मिनेटमा गोन्जालेजले गोल गरेपछि बार्सिलोनाले ५–२ ले जित दर्ता गर्न सफल भएको हो। जितपछि आठौँ स्थानमा पुगेको बार्सिलोनाको सात खेलबाट ११ अंक भएको छ।

शनिबार राति नै भएको खेलमा काडिजलाई ४–० ले पराजित गरेको एथ्लेटिको मड्रिड सात खेलबाट १७ अंकसहित शीर्ष स्थानमा पुगेको छ।

अरु खेलमा सेभिल्लाले ओसासुनालाई १–० ले पराजित गर्दा हुएस्का र एइबरले १–१ को बराबरी गरे।