काठमाडौँ, ३ असार । ला लिगा फुटबलमा भएको खेलमा बार्सिलोनाले सहज जित हात पारेको छ। लियोनल मेस्सी र अंशु फातीको गोलमा बार्सिलोनाले जित हात पारेको हो।

मंगलबार भएको खेलमा बार्सिलोनाले लेगानेसमाथि २–० को जित निकालेको हो। जितसंगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसंग ५ अंकको अग्रता लिन सफल भएको छ।

खेलको ४२ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । फातीले यस सिजन बार्सिलोनाका लागि ५ गोल गरिसकेका छन्। फाती बार्सिलोनाको फुटबल ईतिहासमा सबैभन्दा कम उमेरमा डेब्यु खेलमा गोल गर्ने खेलाडी हुन्।

उनले १६ बर्ष २ सय ९८ दिनमा रियल बेटिसलाई ५–२ ले हराउने क्रममा बार्सिलोनाबाट गोल गरेका थिए। उनी ६ बर्षको उमेरमा परिवार सहित स्पेन गएका थिए। उनी सन् २०१२ देखि बार्सिलोनाको युवा एकेडेमीमा रहदै आएका छन्।

लियोनल मेस्सीले ६९ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे। उनले बार्सिलोनाका लागि २१ औं लिग गोल पुरा गरे। अर्को हप्ता ३३ औं जन्म दिन मनाउने क्रममा रहेका उनले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए।

फाती लगत्तै बार्सिलोनाका लागि एन्टोनियो ग्रिजम्यानले समेत गोल गरेका थिए। तर भारका कारण रेफ्रीले गोललाई मान्यता दिएनन्। रेफ्रीलाई अपशब्द प्रयोग गरेपछि लेगानेसका प्रशिक्षक जाभियर एगुईरेले रातो कार्ड पाएका थिए।

शीर्ष स्थानको बार्सिलोनाको ६४ अंक भएको छ। दोस्रो स्थानको रियल मड्रिडको ५९ अंक छ। तालिकाको पुछारमा रहेको लेगानेसको २३ अंक रहेको छ।