एजेन्सी, ३ असार । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलाले अवस्था सामान्य भएपछि डेविड सिल्भालाई पुनः बोलाएर भव्य बिदाई गरिने बताएका छन्।

कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग बन्द रंगशालामा बुधबारदेखि सुरु हुँदैछ।

दर्शक बिना यो सिजनका बाँकी खेलहरु पूरा हुने छन्। सिटीका ३४ वर्षका खेलाडी सिल्भा यो सिजन सकिएसँगै बिदा हुने छन् म्यानचेस्टर सिटीबाट। अगस्टसम्म बस्ने बताएका सिल्भा त्यसपछि कतारको क्लबमा जाने चर्चा छ।

तर सिटीका प्रशिक्षक गार्डिवलाले झण्डै दशक लामो सिल्भाको योगदानको कदरका लागि अवस्था सामान्य भएपछि उनलाई बोलाएर पूरै दर्शकका सामु भव्य बिदाई गरिने बताएका हुन्।

तर सिल्भाले क्लबमा आफ्नो अन्तिम खेल भने दर्शक बिना नै खेल्नु पर्ने छ। सिल्भा ९ वर्षअघि स्पेनिस क्लब भ्यालेन्सियाबाट इंग्लिस क्लब म्यानचेस्टर सिटी आएका थिए।