काठमाडौं, १४ फागुन । प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले केपी ओली र वामदेव गौतमसँग एकता हुन नसक्ने दावी गरेकी छन्।
नेकपा जैमिनी नगरपालिका कमिटी बाग्लुङले शुक्रबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै झाँक्रीले संसद् विघटन गरेर पार्टी एकतालाई छिन्नभिन्न पार्ने ओली र रमिता हेर्ने गौतमसँग अवको सहकार्य नहुने बताएकी हुन्।
झाँक्रीले ओली र गौतमबाहेक अन्य जोकोहीसँग पार्टी एकता र सहकार्य हुने बताइन्। उनले ओलीलाई नेकपाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हुँदा पार्टीभित्र उनको कुनै औचित्य नरहेको बताइन्।
उनले सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको निर्णय गरेर नेपाली जनताको हितमा काम गरेको बताइन।
‘अदालत जनताको पक्षमा उभिएको छ,’ झाँक्रीले भनिन्, ‘संविधानको मर्मविपरीत ओलीको संसद् भंग गरे, न्यायालयले यसको पुनर्स्थापनाको फैसला गरेको छ। न्यायालयप्रति नेपाली जनताको विश्वास झनै बढेको छ। प्रधानमन्त्री ओलीलाई भने कुर्सीको मोहले छाडेको छैन। यदि ओलीमा कुनै नैतिकता छ भने तुरुन्त राजीनामा दिनुपर्छ।’
उनले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवृत्तिविरुद्ध निरन्तर आन्दोलन गर्ने उनको भनाई छ।