काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अघि बढि सकेकोले अब कसैले रोक्न नसक्ने बताएका छन्।
दाङको राप्ती नदीमा बनेको सिसहनियाँ र गडवाह दुईवटा पालिकालाई जोड्ने पक्कि पुलको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको लहर चलिरहेको बताएका हुन्।
प्रधानमन्त्रीले भने, ‘कोभिड–१९ ले पनि हामीलाई विकासको काममा रोक्न सकेन, केही केही प्रतिकुलता थप्यो, तर पनि हामीले ती प्रतिकुलतालाई चिरेर अनुकुलता बनाएर अगाडि बढ्यौँ।’
उनले कोभिड १९ विरुद्धको खोप भोलिबाट सुरु हुने पनि बताए। पहिलो चरमा फण्टलाइनमा बसेर काम गर्नेलाई लगाइने सो खोप कार्यक्रम माघ १८ सम्म पुरा गर्ने उनले जानकारी दिए। त्यस पछि क्रमशः अभियान अघि बढ्ने उनले बताए।
नेपलाकै दोस्रो लामो सो पुल ९२ करोड ६९ लाख रुपैँयाको लागतमा निर्माण भएको हो। ८ सय ६० मिटर लामो सो पुल १०‍.५ मिटर चौडा रहेको छ।
नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । जसको लम्बाइ १ हजार १५ मिटर छ।
समयम अगावै पुल निर्माणको काम सम्पन्न गरेकोमा प्रधानमन्त्रीले निर्माण कम्पनी तथा सरोकारवालाई धन्यवाद व्यक्त गरे। चार वर्षमा निर्माण गरिसक्ने लक्ष राखिएको सो पुल दुइ वर्ष नौ महिनामा निर्माण सम्पन्न भएको हो।
प्रधानमन्त्रीले आजै दाङमा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।