काठमाडौं, माघ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीलाई हटाउन अबको आन्दोलन निर्णायक हुने दाबी गर्नुभएको छ।
सोमबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा दाहालले काठमाडौंमा टाउकोमै हान्नुपर्ने खालको निर्णायक आन्दोलन गर्न लागिएको जानकारी पनि दिए।
जनकपुरमा गर्न लागिएको सभा रोकेर काठमाडौंमा सभा गर्न लागिएको र त्यसले छिनोफानो गर्ने भन्दै दाहालले केपी ओली समूहले गर्ने सभालाई भने पञ्च र्याली संज्ञा दिए।
दाहालले, ‘केपी ओलीले जत्रो सभा गरे पनि पञ्चर्‍याली भन्दा फरक हुने छैन। ढल्ने बेलामा राजा महाराजाका तर्फबाट पनि यस्ता र्‍याली निस्कन्थे।’
ओलीलाई ‘सामन्ती’को संज्ञा दिँदै दाहालले संविधान, गणतन्त्रलाई उल्ट्याउन कम्युनिस्ट पार्टी भित्रै घुसेका सामन्तीहरु लागिरहेको आरोप लगाए।
सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर देशलाई धकेल्ने षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने दाहालको भनाइ थियो।
पार्टी एकता गर्दा एक नम्बर र दुई नम्बर अध्यक्ष नभनिएको, प्रधानमन्त्री पनि आलोपालो गर्ने सहमति भएकोमा ओलीले नमानेर सहमति तोडेको भन्दै दाहालले अहिले पनि माधव नेपाल आफू बराबरी हैसियतको अध्यक्ष रहेको बताए।
बैठकको अध्यक्षता आलोपालो गरिने भन्दै उहाँले जसले बैठकको अध्यक्षता गर्छौँ उही एक नम्बरको हुने उनको दावी छ।