काठमाडौं, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल समूहका अर्का अध्यक्ष माधव नेपालले पदमा टिक्नका लागि प्रधानमन्त्री केपी ओलीले संकटकाल पनि लगाउन सक्ने आशंका गरेका छन्।
सोमबार पार्टी कार्यालय कोटेश्वरमा प्रदेश नम्बर २ का कार्यकर्ता भेटघाटमा नेता नेपालले प्रतिनिधिसभा भंग हुनै नसक्ने भन्दै प्रधानमन्त्री ओलीले चुनाव गराउने नभई संकटकाल लगाएर अथवा तानाशाही लादेर सत्तामा टाँसिरहने सोच रहेको दावी गरे।
आफूहरु गलत विचारविरुद्धको लडाईंमा रहेको भन्दै यो पद र कुर्सीको हानाथाप नभई पार्टीलाई विचार, विधि, पद्धतिमा चलाउने संघर्ष भएको जिकीर उनको थियो।
अर्का नेता झलनाथ खनालले भने ओलीले समाजवादी बाटो छोडेर भद्दा पुँजिवादी उदारवाद अपनाएको आक्षेप लगाए।
प्रतिनिधिसभा विघटन लोकतन्त्र, संविधान, संघीयता, समावेशीता तथा गणतन्त्रमाथिको आक्रमण भएको भन्दै उनले प्रधानमन्त्री ओलीले मुलुकलाई प्रतिक्रान्तितर्फ लैजान खोजेको आरोप लगाए।