काठमाडौं, १२ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दैछ।
आज पत्रकार सम्मेलन गरेर दाहाल–नेपाल समूहले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो।
निर्वाचन आयोगले समेत बहुमत हुँदाहुँदै पनि आधिकारिक नेकपाको मान्यता नदिएपछि आक्रोशित बनेको दाहाल–नेपाल समूह सडक आन्दोलन थप चर्काउने निर्णय गरेको छ।
यसअघि हिजो सो समूहको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो।
पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल नेपाल समूह विभाजन भएर सडक संघर्षमा आएको हो।
यसक्रममा माइतीघरमा धर्ना बस्नेदेखि काठमाडौँमै शक्ति प्रदर्शनसम्मका कार्यक्रम दाहाल–नेपाल समूहले गरेका छन्।