काठमाडौं, १० माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको छ।
गत ५ पुसमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपछि त्यसविरुद्ध दाहाल–नेपाल समूहले आन्दोलन गर्दै आइरहेको छ।
दोस्रो चरणको आन्दोलनअन्तर्गत दाहाल–नेपाल समूहले हजारौंको सहभागितामा काठमाडौंमा प्रदर्शन गरेको हो। प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सडकबाटै प्रधानमन्त्री ओलीलाई हटाउने चेतावनी दिएका छन्।
सम्बोधनका क्रममा शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीको चर्को विरोध गरे। धेरै नेताले मुलुकको समृद्धि र विकासका कुरा गर्नुभन्दा प्रधानमन्त्री ओलीलाई गाली गर्नमा नै धेरै समय व्यतीत गरेका थिए।
माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिकालगायतका स्थानबाट जुलुस निकालिएको थियो। जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, शहीदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो।
कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तीन वर्षमा ओलीलाई तह लगाउन नसकेको भन्दै आत्मालोचना गरेका छन्। आफूले ओलीलाई सुधार्न नसकेको भन्दै आत्मालोचना गरेका दाहालले ओली प्रवृत्ति स्वीकार गर्ने भूल आगामी दिनमा नगर्ने प्रतिबद्धता जनाए।
आफूहरूको उदारतालाई कमजोरी ठानेर ओली अगाडि बढेकाले आफूहरू जनताका बीचमा आउनुपरेको उनले बताए। ओलीले निरकुंशवाद र अराजकता लादेर संघीयतामाथि नै प्रश्नचिह्न सिर्जना गर्ने काम गरेको आरोप उनले लगाए।
अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको सर्वसत्तावाद, निरंकुशवाद, अराजकता र असंवैधानिक कदम स्थापित गर्न खोजिए शान्ति प्रक्रिया भंग हुने चेतावनीसमेत दिए। नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री ओली हिटलरको संस्करण भएको टिप्पणी गरे।
ओलीप्रति अब कोही पनि नतमस्तक नहुने बताउँदै उनले नेपाली जनता स्वाभिमानी भएको बताए। संविधानले विधिको आधारमा देश चल्ने बताए पनि अहिले देश विधिविपरीत चलाउन खोजिएको उनले आरोप लगाए। (राजधानी दैनिकबाट)