विराटनगर, ७ माघ । प्रदेश १ र बागमती प्रदेशको हिउँदै अधिवेशन आजबाट सुरु हुँदैछ। दुबै प्रदेशका मुख्यमन्त्रीहरुले यो अधिवेशनमा अविश्वाशको प्रस्ताव सामना गर्नुपर्नेछ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा व्यवहारिक रुपले दुई भागमा विभाजित भएको हो।
यसैको परिणामस्वरुप नेकपाको दाहाल नेपाल समुहले ओली पक्षका मुख्यमन्त्री रहेको प्रदेश १ र बागमतीमा अविश्वाशको प्रस्ताव ल्याएका हुन्। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईले अविश्वाशको प्रस्ताव सामना गर्ने बताएका छन्।
यी दुबै प्रदेशमा मुख्य विपक्षी दल नेपाली कांग्रेस निर्णायक देखिएको छ। प्रदेश सभाबाट अविश्वाशको प्रस्ताव पास हुन आवश्यक मत दाहाल नेपाल समूहसँग मात्रै छैन। त्यसैले मुख्यमन्त्री हटाएर नयाँ मूख्यमन्त्री बनाउन नेपाली कांग्रेसको साथ अनिवार्य चाहिन्छ। कांग्रेसले भने यसबारे अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन।