काठमाडौं, ४ माघ । प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेपाली काँग्रेसले शनिबार देशका ७५३ वटै स्थानीय तहमा प्रदर्शन र विरोध सभा गरेको छ।
प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ भएको आरोप लगाउँदै कांग्रेसले विरोध सभा आयोजना गरेको हो।
कांग्रेसले शनिबार काठमाडौं उपत्यकाभित्रका नगरपालिकाहरूमा विरोध सभाको आयोजना गरेको छ। ती कार्यक्रमलाई काठमाडौं केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गर्दै न्यायालयले सबैलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौं वसन्तपुरमा आयोजित कार्यक्रममा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्न पाउने संवैधानिक व्यवस्था नै नभएको बताए। उनले प्रतिनिधि सभाको विघटन संविधानको भावना र मर्मविपरीत भएकोसमेत दाबी गरेका छन्।
नेता सिंहले काँग्रेसको नेतृत्वमा आएको संविधानको रक्षा गर्न कांग्रेसले जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको चर्चा गरे। तत्कालीन राजा ज्ञानेन्द्रले शाही आयोगको गठन गर्दा पनि सर्वोच्च अदालतले त्यसलाई खारेज गरेको स्मरण गर्दैै उनले न्यायालयले सबैलाई न्याय दिने विश्वास व्यक्त गरे।