काठमाडौं, २९ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आधिकारिकताका लागि निर्वाचन आयोगमा जवाफपत्र पेश गरेका छन्।

आयोगले पछिल्लो पटक दिएको ७ दिनको समयावधिको अन्तिम दिन नेकपाका केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरु छुट्टाछुट्टै निर्वाचन आयोग पुगेर आफू आधिकारिक भएको दाबी गर्दै कागजातसहित जवाफ पेश गरेका हुन्।

प्रतिनिधी सभा विघटनसंगै राजनीतिक रुपमा विभाजन भएको नेकपाका दुवै समूहले आधिकारीकताका लागि यसअघि नै निवेदन दिए पनि निर्वाचन आयोगले थप स्पष्ट जवाफ माग गरेपछि पुनःजवाफपत्र पेश गरेका हुन्।

निर्वाचन आयोगले पुस २३ गते आधिकारिकताका लागि स्पष्ट कागजात नआएको भन्दै आवश्यक सुधारसहितको कागजात र पत्र एकसाताभित्र पठाउन दुवै समुहलाई पत्र पठाएको थियो।