काठमाडौं, २९ पौष । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले पार्टी प्रवक्तासमेत रहेका विभाग प्रमुख विश्वप्रकाश शर्मालाई आगामी १५ वर्ष गर्ने कार्यक्रम र योजनाका खाका तर्जुमा गर्ने जिम्मेवारी दिएको छ।

विभागको हालै बसेको बैठकले जिम्मेवारी बाँडफाँड गर्दै देश र पार्टीका लागि अबको १५ वर्षे परिकल्पनाको प्रारम्भिक खाका तर्जुमा गर्न शर्मालाई जिम्मेवारी दिएको हो।

यसबारे प्रचार विभागले मंगलबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘देशका लागि कांग्रेसको आगामी १५ वर्षे परिकल्पनाको प्रारम्भिक खाका तर्जुमा कार्यदल बैठकले गठन गरेको छ। जसको संयोजक विश्वप्रकाश शर्मा छन्।’

कांग्रेसको विधानमा विभागलाई प्रचार लगायतका रणनीति बनाउन सक्ने अधिकार छ। सोअनुसार निर्वाचनलगायत प्रचारका रणनीति पनि विभागले बनाउने गर्छ।

गत पुस २१ र २२ मा प्रचार विभागको बैठक बसेको थियो। उक्त बैठकले विभागका केही सदस्यहरूको जिम्मेवारी हेरफेरसमेत गरेको छ।

कांग्रेसले शासन सम्हालेका बेला भएका कमीकमजोरी अध्ययन गर्न कार्यदल बनेको छ। जसको संयोजकमा सुरेश आचार्य छन्।

यस्तै कांग्रेसको नेतृत्वमा हासिल राजनीतिक र सामाजिक उपलब्धि अध्ययन गर्न रामचन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल बनेको छ।

कांग्रेसको नीति र नेतृत्वमा हासिल आर्थिक उपलब्धि अध्ययन कार्यदल संजय महतोको नेतृत्वमा कार्यदल बनेको छ।

प्रचार विभागका सचिव दिनेश थापा मागरले दिएको जानकारीअनुसार  कम्युनिष्ट सरकारको भनाइ र गराइ अध्ययन र संक्षेपीकरण कार्यदल पनि बनेको छ। जसको संयोजकमा गोपालकुमार झा छन्।

मितव्ययी निर्वाचन व्यवस्थापन अध्ययन कार्यदलको संयोजक दिनेश थापा मगर छन्। सामाजिक संजाल समन्वय उपसमितिको संयोजकमा दिपेश बिष्ट छन्।

कांग्रेस महिला प्रचार नेटवर्कको संयोजक अञ्जना अर्याल, सहसंयोजक राधा कुँवर क्षेत्री, सचिव अनिता शर्मा रहेका छन्। कांग्रेस युवा प्रचार नेटवर्कको संयोजक विकल राई छन्।

भिन्न समुदायका मुद्दा र मानसिकता सम्वन्धी वजरंग नेपालीको संयोजकत्वमा गठित अध्ययन कार्यदललाई बैठकले पूर्णता दिएको छ।

यस्तै बैठकले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदमविरुद्ध कांग्रेसले देशव्यापी रुपमा संचालन गरिरहेको विरोध कार्यक्रममा सहभागिता बढाउन मिडिया तथा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने निर्णय गरेको छ।

बैठकले विभागका कामकारवाही अनुगमन गर्न विभागका सदस्य नीर शाहको संयोजकत्वमा विभागका सदस्यद्वय अंजनिकुमार झा र फूलकुमार लालवानी सदस्य रहेको अनुगमन समिति बनाएको छ।