काठमाडौं, २३ पौष । नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य बामदेव गौतमले प्रतिनिधि सभा विघटनलाई संवैधानिक भएको बताएका छन्।

विघटनविरुद्ध सर्वोच्चमा परेका रिटहरूको विषयमा संवैधानिक इजलासमा बहस हुन थालेकोले त्यसलाई असंवैधानिक भन्न नहुने उनले तर्क गरेका हुन्।

उनले भने, ‘मैले यो असंवैधानिक कदम हो भनेँ। तर, सर्वोच्च अदालतमा परेका रिटहरू संवैधानिक इजलासमा लगेपछि असंवैधानिक हो भन्न मिल्दैन।’

अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपनि आफूले यसलाई असंवैधानिक नभन्ने उनले बताए। ‘यो विषय संवैधानिक विषय हो भनिसकेपछि पुनर्स्थापना भए पनि असंवैधानिक भएर पुनर्स्थापना भयो भन्ने छैन।’ असंवैधानिक विषय संवैधानिक इजलासमा प्रवेश नै नहुने नेता गौतमको भनाइ छ।

संविधान भित्रको विषय आफूले भनेबमोजिम भएन भन्दैमा संविधानलाई बदनाम गर्न नहुने बताए। उनले घुमाउरो तरिकाले प्रतिनिधि सभा विघटनलाई संवैधानिक बताउँदै आफ्नो स्वार्थअनुसार संविधानलाई बदनाम गर्न नहुने धारणा राखे।

प्रधानमन्त्रीले अल्पमतमा परेपछि राजीनामा दिएको पार्टी जोगिने उहाँको तर्क छ । गौतमले भने, ‘अल्पमतमा परे प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्दछ। त्यसो भएको भए पार्टी जोगिन्थ्यो। म भए अविश्वास प्रस्ताव दर्ता गर्नु अघि नै राजीनामा दिन्थें। मैले मेहेनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो।’

राष्ट्रिय सभा बैठकमा गौतमले पहिलो पटक आफ्नो धारणा राखेका हुन्।