काठमाडौं, ८ पौष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस कुनै पनि नामका कम्युनिष्टहरुसँग सहकार्य नगर्ने बताएका छन्।

रेडियो कान्तिपुरसंगको कुराकानीमा बोल्दै डा. कोइरालाले अबको परिस्थितिमा मूलुक र लोकतन्त्रको हितका लागि कांग्रेसले कदम चाल्ने दावी गरे।

कांग्रेसले देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई गम्भीरता पुर्वक मुल्यांकन गरिरहेको बताए। अहिले चलिरहेको केन्द्रीय समितिको बैठकले निष्कर्ष निकालेपछि भावी योजना सार्वजनिक हुने उबले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको बताउँदै उनले त्यसका विरूद कांग्रेसले सडकबाट सशक्त विरोध गर्ने बताए।

उनले भने, ‘अब कांग्रेसले लोकतन्त्रको रक्षाका लागि एक्लै संघर्ष गर्नुपर्छ। हामी सशक्त रुपमा असंवैधानिक कदमको विरोध गर्छौं।’

नेपाली कांग्रेस लोकतान्त्रिक विचार धाराको जगमा उभिएको बताउँदै कोइरालाले निर्वाचन भएमा कांग्रेस त्यसबाट पछि नहट्ने जिकिर समेत गरे।

उनले भने, ‘सरकारको कदम गलत छ। त्यसको हामी खिलाफमा छौं। तर, संवैधानिक ईजलासको निर्णय आईसकेपछि मुलुक निर्वाचनमा गयो भने कांग्रेस पछि हट्दैन।’

पुष्पकमल दाहाल प्रचण्डले चुनावी सहकार्यका लागी गरेको आग्रह बारेको प्रसंगमा कोइरालाले कम्युनिष्टहरुसँग कांग्रेसले सहकार्य नगर्ने स्पस्ट पारे।

उनले भने, ‘कांग्रेसले अब कम्युनिष्टहरुसंग सहकार्य गर्दैन। लोकतन्त्रको रक्षाको लागि काँग्रेस अब एक्लै उभिन्छ। कांग्रेस सरकारमा पनि जादैन। निर्वाचनमा पनि कम्युनिष्टसँग सहकार्य गर्दैन।’

प्रधानमन्त्रीको पछिल्लो कदमले मुलुकलाई अस्थिरता तर्फ धकेलेको बताउँदै डा. कोइरालाले अहिलेको परिस्थितिलाई समयमै सहि व्यवस्थापन गर्न नसकेमा मुलुक पुन: द्वन्द र अराजकता तिर जान सक्ने अवस्था रहेको भन्दै चिन्ता ब्यक्त गरेका छन्।