काठमाडौँ, ६ साउन । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आजको लागि बोलाइएको छ। पटकपटक स्थगित हुँदै आएको बैठक आज (मंगलबार) बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

नेकपाका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बिहान ११ बजे बैठक बस्ने सूचना आएको जानकारी दिए। १० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग चर्को रुपमा उठेको छ।

आफ्नै राजीनामाको माग बैठकको मुख्य एजेण्डा बनेपछि ओलीले बैठकलाई पर धकेल्दै लगेका छन्। जसको कारण बैठक पटकपटक स्थगित हुँदै आएको छ।

स्थायी कमिटी बैठक रोकेर ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पटकपटक एक्लाएक्लै छलफल गरे पनि सहमति जुट्न सकेको छैन। प्रचण्डले पनि प्रधानमन्त्री ओलीसहित आफू निकटका नेताहरुसँग छलफल तीब्र बनाएका छन्।

तर, ओलीको कार्यशैलीबाट असन्तुष्ट प्रचण्ड(माधव नेपाल पक्षमा पनि ठोस सहमति जुटेको छैन। प्रधानमन्त्री ओलीले भने कुनै पनि हालतमा आफूले दुबै पद नछाड्ने अडान लिँदै आएका छन्।