काठमाडाैँ, १५ असार । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले हाल जारी रहेकै माेडलकाे लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ।

बैठककाे निर्णय अनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् भने निजी सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछन्। बैठकमा उपस्थित एक मन्त्रीका अनुसार प्रदेश, जिल्ला र स्थानीय तहले काेराेना संक्रमितकाे संख्यालाइ हेरेर लकडाउनमा कडाई र खुकुलो गर्न भने सक्नेछन्, तर निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्नेर्छ।

साथै विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन्। उद्दार बाहेकका सबै हवाई उडान सेवा समेत बन्द रहनेछन्। सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन्। सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछन्।

साथै बैठकले सोसल डिस्ट्यान्स, मास्क र स्यानिटाइजरलाई कडाई पूर्वक लागू गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा पनि काेराेना संक्रमितको संख्या दिनानुदिन बढिरहेकाेले नाकाहरुमा अझ कडाई गर्ने निर्णय भएको एक मन्त्रीले बताएका छन्।