काठमाडौँ, १५ असार । चीनसँग नेपालको कुनै पनि स्थानमा सीमा विवाद नरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्पष्ट पारेका छन्।

सोमबार राष्ट्रियसभामा सीमाबारे बोल्ने क्रममा मन्त्री ज्ञवालीले चीनसँगको सीमा सुल्झ्याएर ९८ वटा सीमा स्तम्भ कायम गरिएको बताएका हुन्।

३७ र ३८ नम्बरको सीमा स्तम्भ भौगोलिक विकटताका कारण बनाउन नसकिएको उनको भनाई छ।

राष्ट्रियसभामा उनले भने, ‘नेपाल, भारत र चीनको तृदेशीय विन्दु पहिचान हुन बाँकी छ। चीनतर्फको १ नम्बर सीमा स्तभ तिन्कर भञ्ज्याङबाट पूर्वमा छ। शून्य नम्बरको सीमा वा तृदेशीय विन्दु टुंगो लाग्ने बित्तिकै हुन्छ। भारतसँगको विवादको कारण तृदेशीय विन्दु पहिचान हुन सकेको छैन।’

चीनले सीमा मिच्यो भनेर फर्जी प्रतिवेदन कसले बनायो भन्ने बारे सरकारले अनुसन्धान गरिरहेको उनले बताएका छन्।

यस्तै, सगरमाथाको उचाई पनि छिट्टै टुङ्गो लाग्ने उनले बताए। हालै पत्रपत्रिकाहरुमा नेपालको भनि दाबी गरिएको रुइ गाउँ चीनकै रहेको ज्ञवालीले बताए।

उनले भने, ‘सन् १९६१ मा सीमा कायम गर्दा त्यहाँको भूभाग स्थानीयलाई रोज्न दिएरै चीनमा परेको हो। गोर्खा प्रशासन कार्यालयले गरेको अध्ययनले पनि त्यसको पुष्टि गरेको छ।’

सांसदहरुलाई सीमा जस्तोसम्वेदनशील विषयमा बोल्दा पत्रपत्रिकामा आउने वित्तिकै भन्दा पनि सबैकुरा बुझेर बोल्न सांसदहरुलाई उनको आग्रह छ।