काठमाडाैँ, १४ असार । नेपाली कांग्रेसकाे आसन्‍न १४ औं महाधिवेशनको कार्य तालिका बारे छलफल गर्न पार्टिले केन्द्रीय कार्यसमितिकाे बैठक बोलाउने भएको छ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार आइतबार बसेको पदाधिकारी बैठकले असार १६ गतेको लागि केन्द्रीय कार्य समितिको बैठक बोलाउने निर्णय गरेको वताएका छन्। काँग्रेसले आसन्न १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्न केन्द्रीय समितिको बैठक बोलाएको वताइएकाे छ।

कोरोना भाइरसको संक्रमणका कारण विगतमा निर्धारण गरिएकाे महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि साे बारे छलफल गर्न केन्द्रीय कार्य समितिकाे बैठक आह्वान गरिएकाे हाे। काँग्रेस नेता रमेश लेखकका अनुसार महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक असार १६ गते मंगलबार दिउँसो १ बजे बोलाउने निर्णय भएको छ। नेता लेखकका अनुसार असार मसान्तसम्म समायोजनको काम सक्ने, साउन मसान्तमा काँग्रेस क्रियाशील सदस्यता वितरण गर्ने, त्यसपछि उजुरी लिने र मंसिरमा सबै काम सकेर पुस महिनामा स्थानीय तहको महाधिवेशन गर्ने विषयमा मोटामोटी छलफल भएको बताए।

कोरोनाका कारण लकडाउन भएपछि कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सबै अनिश्चितकालका लागि स्थगित गरेको थियो। कांग्रेसले नागरिकता विधेयकको विषयलाई पनि आगामी १६ गतेको केन्द्रीय समितिको बैठकको मुख्य एजेण्डा बनाउने तयारी गरेको छ। आइतबारको बैठकले कोरोना महामारीको कारण रोकिएको काँग्रेसको क्रियाशील सदस्यता वितरणको काम समयानुकूल वितरण गर्ने निर्णय समेत गरेको काँग्रेस स्राेतले वताएकाे छ।