काठमाडाैँ । भारत सरकारले नेपाललाई दिदैँ आएको अनुदान सहयोग घटाएको छ। शनिबार भारत सरकारका केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको आर्थिक वर्ष २०२०/२१ को बजेटमा छिमेकी मुलुकहरुलाई दिइने अनुदान सहयोग शीर्षक अन्तर्गत नेपाललाई दिइने रकम घटाएको पाइएको हो।

भारतले नेपाललाई वार्षिक १२ अर्व रुपैयाँ सहयोग गर्दै आएकोमा गत वर्षको तुलनामा आर्थिक वर्ष २०२०/२१ मा ४ अर्ब घटाएर यो रकम ८ अर्बमा झारेको छ। दक्षिण एशियाली मुलुकहरुको तुलनामा नेपाललाइ दिइने रकम सबैभन्दा बढि घटाइएको छ ।

नेपाललाइ दिने सहयोग तीन वर्षदेखि लगातार बढाउँदै आएको भारत सरकारले यो वर्ष सहयोग ह्वात्तै घटाएको हो।अनुदान सहयोगमा निर्माण गरिएका परियोजनाहरुमा वित्तिय पारदर्शीताको अभाव पनि भारतीय पक्षलाई खटकिएको बुझिएको छ।

भारत सरकारले प्रतिवद्धता जनाएको सहयोग पूर्ण उपयोग हुन नसक्नु र २०१५ को भुकम्पपछि पुर्ननिर्माणमा जनाएको प्रतिवद्धतापछि सो परियोजना सकिन लागेको हुँदा एउटा मुख्य कम्पोनेन्ट नै घटनुले पनि यो अनुदान घटाइएको हुन सक्ने एकथरीको तर्क रहेको छ।

भारतले भुटान, बंगलादेशलाइ गर्दै आएको सहयोगमा थोरै भएपनि वृद्धि गरेको छ भने अफगानिस्तानको सहयोग अघिल्लो वर्ष सरह नै छुटयाएको छ। पछिल्लो समय चीनको लगानीप्रति नेपालको बढदो आकर्षणप्रति भारतीय पक्षको ‘रिजर्भेसन’ रहेकोे एकाथरिको विश्लेषण रहेको छ।