काठमाडौं, २९ जेठ । नेपालसँगको सम्बन्ध विशेष रहेको उल्लेख गर्दै भारतले विशेष परिस्थितिमा पनि बहुपक्षीय सहयोगलाई निरन्तरता दिइरहेको बताएको छ। नेपाल-भारत सीमा विवादका कारण पछिल्लो समय दुई देशको सम्बन्ध खराब चलिरहेका बेला भारतीय विदेश मन्त्रालयको सो भनाई आएको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबारको नियमित पत्रकार सम्मेलनमा त्यसलाई नछोईकन नेपालसँगको प्राविधिक, मेडिकल र मानवीय सहायतालाई कोरोना भाइरस महामारीका बेला थप फराकिलो बनाएको दावी गरेका छन्।

नेपालको बिषयमा भारतीय मिडियाले गरेका नकारात्मक प्रचार रोक्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आग्रह गरेको भनिएको केहि दिनपछि नक्साको विषय नेपालमा संविधान संशोधनको प्रकृयामा समेत रहेका बेला भारतीय विदेश मन्त्रालयको यस्तो धारणा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेपालले केही समय अघि भारतले दाबी गर्दै आएको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेत समेटेर आफ्नो नक्सा सार्वजनिक गरेको थियो।

प्रवक्ता श्रीवास्तवले, नेपालको सभ्यता र ऊसँगको सांस्कृतिक सम्बन्धलाई सँधै महत्व दिइरहेको बताउँदै, दुई देशबीचको बहुआयामिक सम्बन्ध साझेदारी मानवीय, विकास र ‘कनेक्टिभिटी’को क्षेत्र भारतले थप फराकिलो बनाउँदै लगेको उल्लेख गरे।

अतिक्रमित नेपाली भूमिका बिश्स्यमा नेपालले पटक पटक वार्ताको प्रयास गर्दा समेत वार्तामा अनिच्छुक देखिएको मोदी सरकारले लकडाउनका बेला नेपाललाई ठूलो मात्रामा मेडिकल सामग्री उपलब्ध गराएको र विदेशमा अलपत्र नेपाली नागरिकलाई समेत उद्धार गरेको भन्दै प्रचार गर्न थालेको छ। मुख्य समस्याको बिषयमा द्विपक्षीय वार्ता गर्न समेत तयार नभएको भारत सरकारले नेपाललाई सहयोग गरिरहेको भनेर एकतर्फी प्रचार गर्नुलाई अर्थपूर्ण छ।