काठमाडौं, २३ पौष । बागमती प्रदेश सभाको सातौं अधिवेशन माघ ७ गते आव्हान गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विप्णुप्रसाद प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभा अधिवेशन आह्वान गर्नुभएको हो।

प्रदेश सभा सचिवालयले बिहीबार एक सूचना निकालेर माघ ७ गते बुधबार अपरान्ह ३ बजे प्रदेश सभा बैठक बस्ने जानकारी दिएको छ। बैठक प्रदेश सभा भवन मकवानपुर हेटौंडामा बस्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यसको प्रभाव प्रदेशमा पनि देखिएका बेला प्रदेश सभा बैठक बस्न लागेको हो। प्रधानमन्त्रीको उक्त कदमपछि नेकपामा ओली र प्रचण्ड–नेपाल गरी भिन्न समूह क्रियाशील छन्। बागमती प्रदेश सभामा पनि यसको असर देखिनेछ।

प्रचण्ड नेपाल समुहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभामा अविश्वाशको प्रस्ताव दर्ता गराईसकेको छ। पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने उनीहरूको प्रस्ताव छ। तर मुख्यमन्त्री पौडेलले भने अविश्वाशको प्रस्ताव सामना गर्ने बताउँदै आएका छन्।