स्वास्थ्य मन्त्रालय

काठमाडाैँ, २४ चैत्र । बुधबार विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले थप उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

कोरोनाको नयाँ भेरियन्टबाट संक्रमित हुनेको संख्या बढ्दै गएको हुँदा विद्यालय, सार्वजनिक यातायात, धेरै भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउन सरोकारवालाहरुलाई आग्रह गरेको छ।

सार्वजनिक स्थानहरुमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने पनि मन्त्रालयको भनाइ छ। यस्तै रात्रिकालिन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ।

संक्रमणको अवस्था हेरेर साना सहरमा १०० र ठूला सहरमा ५०० भन्दा बढी संक्रमित देखिएमा ती सहरमा आवागमनमा कडाई गर्न पनि मन्त्रालयको आग्रह छ।