काठमाडौं, ११ चैत्र । कोरोना महामारी फेरि फैलिन सुरु गरेपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले सभा, सम्मेलन र भीडभाड नगर्न सूचना जारी गरेका छन्।
स्वास्थ्य र गृहमन्त्रालयले फेरि कोरोना महामारी फैलिन लागेको उल्लेख गर्दै सचेतता अपनाउन आग्रह गरेसँगै उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले कडा निर्देशन जारी गरेका हुन्।
प्रशासन कार्यालयहरुले यही चैत १५ र १६ गते मनाउन लागिएको होली पर्व घरभित्रै मनाउन समेत आग्रह गरेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘कोभिड–१९ सम्भाव्य जोखिमहरु न्यूनिकरण गरी संक्रमण बढ्न नदिन सार्वजनिक स्थलमा भिडभाड नगर्ने, फागू पर्वको अवसरमा सार्वजनिक स्थलमा भिडभाड नगर्ने, होली पर्वलाई आफ्नो घरभित्र नै सिमित रही सामाजिक, सांस्कृतिक मर्यादा अनुसार खेल्ने, घर बाहिर तथा सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र सामाजिक भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न अनुरोध गरिएको छ।’
प्रशासनले सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संकामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
त्यस्तै भक्तपुर प्रशासन कार्यालयले कोरोना संक्रमण जोखिमबाट बच्न भिडभाड हुने गरी कुनै किसिमको मेला, जात्रा, साँस्कृतिक कार्यहरु अर्को सूचना जारी भएसम्म नगर्न भनेको छ।
त्यस्तै ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि स्वास्थ्य सचेतता अपनाउन सूचना जारी गरेको छ।