काठमाडौं, २९ पौष । रुसले नेपाललाई कोरोना भाइरसविरुद्ध २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने भएको छ।

रुसको विदेश मन्त्रालयलाई उध्दृत गर्दै रोयटर्स समाचार एजेन्सीले रुसले आफूले विकास गरेको स्पुतनिक–फाइभ खोप नेपाललाई उपलब्ध गराउने समाचार लेखेको छ।

खोप उपलब्ध गराउनेबारे नेपालसँग सम्झौता भएको पनि उल्लेख छ। रुसले भारतलाई पनि खोप दिने सम्झौता गरेको समाचारमा उल्लेख छ। भारतमा स्पुतनिक–भी खोपको परिक्षण गराउने पनि जनाइएको छ।

मंगलबार मात्र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले नेपालमा खोप ल्याउन रुस, भारत र युएइसँग छलफल भैरहेको जनाएका थिए।

नेपाललाई थाहा छैन

यसैबीच स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतको खोप महाशाखाका अधिकारीहरुले भने यसबारेमा कुनै जानकारी नभएको बताएका छन्।

नेपाल प्रेससँग कुरा गर्दै खोप महाशाखाका प्रमुख झलक गौतमले सरकारी तहबाट यसबारे अहिलेसम्म कुनै जानकारी नभएको बताए। उनले रुसको उक्क्त खोपको प्रभावकारीतामाथिनै प्रश्न रहेको बताए।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले पनि रुसले खोप पठाउनेबारे अनविज्ञता जाहेर गरेका छन्।