धरान, २२ असोज । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

प्रतिष्ठानका श्रोतका अनुसार सुनसरीको धरान उपमहानगरपालिका १० का ३९ वर्षीय पुरुषको बिहीबार बिहान करिब साढे चारबजे मृत्यु भएको हो।

प्रतिष्ठानको कोभिड १९ अस्पतालमा अशोज १३ गते भर्ना भएका बिरामीमा क्षयरोगसँगै कलेजो र मृगौलामा समेत समस्या रहेको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए। उनमा अशोज १२ गते कोरोना भाइरस पोजिटिभ पुष्टि भएको थियो।

प्रतिष्ठानमा अहिलेसम्म ४२ जनाको कोभिडका बिरामीको उपचारका क्रममा मृत्यु भएको छ।

त्यसैगरी,

कोरोना भाइरसको संक्रमणका कारण विराटनगरका एक बृद्धको मृत्यु भएको छ। विराटनगर ५ का ८२ वर्षीय बृद्धको बिहीबार बिहान करिब साढे ६ बजे मृत्यु भएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका नगररक्षक राजन पौडेलले होम आइसोलेशनमा बसेका बृद्धको मृत्यु भएको बताए। बृद्धलाई ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिएपछि अशोज १७ स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको उनले जानकारी दिए।

बुधबार रातिबाट वृद्धको स्वास्थ्यमा थप समस्या देखिएको थियो।