काठमाडौं, साउन ३२ । विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १६ लाख तीन सय ५९ जना पुगेको छ।

आईतबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ६८ हजार ६ सय तीन जना पुगेको छ भने एक करोड ४३ लाख २१ हजार आठ सय ४४ जनाले कोरोना मुक्त भएका छन्।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा मात्र एक लाख ७२ हजार ६ सय ६ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्। त्यस्तै,ब्राजिलमा एक लाख सात हजार दुई सय ९७, भारतमा ५० हजार ८४ जनाले कोरोनाका कारण गुमाईसकेका छन्। तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको ग्राफ बढ्दै गएको छ।

आजसम्म मेक्सिकोमा ५६ हजार पाँच सय ४३ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै ६ सय ३५ जनाले ज्यान गुमाएको तथ्याङकले देखाएको छ।

शनिबार विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म १७ हजार दुई सय एक जनाले कोरोना जितेका छन भने एक सय दुई जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।