काठमाडौँ, १९ वैशाख । गायिका रानु देवी अधिकारीको निधन भएको छ। बिहिबार सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

८५ बर्षीय रानुको आज शुक्रबार अन्त्येष्टी गरिने उनका नजिकका मित्र तथा लेखक शंकर खरेलले जानकारी दिए।

२००७ सालको क्रन्तिको प्रचार प्रसारका लागि बिराटनगरको बोर्डरमा ‘प्रजातान्त्रिक नेपाल रेडियो’ खोलिएको थियो। उनी त्यसको पहिलो गायिका हुन्। उक्त रेडियोबाट उनले नेपालमै पहिलो पटक लाइभ गीत गाएकी थिइन्। 

उनले सो बेला प्रजातान्त्रिक आन्दोलनका लागि सर्वसाधारणलाई उत्साह र हौसला प्रदान गर्ने खालका ‘जाग जाग’ बोल लगायत केही क्रान्तिका गीतहरु गाएकी थिइन्।

उनले त्यसपछि कलकत्तामा गएर ५ वटा गीत रेकर्ड गराएकी थिइन्।

उनले २०६१,६२ मा ५६ बर्षपछि ‘जागे नेपाली उठे नेपाली शान्ती लिएर’ भन्ने गीत गाएकी थिइन् ।

रानु पछिल्लो समय मैतिदेवी स्थित छोरीको घरमा बस्दै आएकी थिइन् । उनको एक छोरा पनि छन्। उनी अमेरिकामा रहेकोले छोरीसँगै बस्दै आएकी थिइन्।

रानु डा. शेखर कोइरालको आमा नुना कोइरालाको बहिनी पनि हुन्। बिरगन्जमा जन्मिएकी रानुले धेरै समय बनारसमा बिताएकी थिइन्। 

रानुले ५६ बर्ष पछि गीत गायको बिषयमा एउटा बृत्तचित्र समेत बनाइएको छ । उनले बिराजनगरको एक सरकारी स्कुलमा पनि जागिर गरेकी थिइन्।