काठमाडौँ । विशेष अदालत काठमाडौँले ललिता निवास जग्गा हिनामिना प्रकरणका ३४ जना प्रतिवादीलाई अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्रमा उल्लेख गरेका १ सय ७५ जनामध्ये अहिलेसम्म ३४ जना प्रतिवादीलाई उपस्थित हुन म्याद जारी गरेको हो।

विशेष अदालतका प्रवक्ता एवं उपरजिष्ट्रार पुष्पराज पाण्डेयलेका अनुसार पछिल्लो ३-४ दिन यता अदालतले प्रतिवादीहरूलाई उपस्थित हुन म्याद जारी गरिरहेको छ।

बिषेस अदालतले अहिलेसम्म ३४ जनाको नाममा म्याद दिईसकेको र अन्यको हकमा म्याद जाने क्रममा रहेको जनाएको छ। त्यसकालागि म्याद जान बाँकीको नाम र वतन रुजु गर्ने काम भइरहेको बताइएको छ।

अदालतका प्रवक्ता समेत पाण्डेका अनुसार प्रतिवादीहरूले म्याद गएको मितिले १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्नेछ। उनीहरू म्यादभित्र वयान दिएपछि त्यसपछि साक्षी बुझ्ने लगायतका अरू कार्वाही अगाडि बढ्नेछ।

विजय गच्छदारलाई म्याद पठाउन बाँकी

यस प्रकरणका मुछिएका नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजय गच्छदारलाई म्याद पठाउन बाँकी रहेको स्रोतले जनाएको छ।

भौतिक योजना तथा निर्माणमन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेका गच्छदारको अदालतमा मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः निलम्बनमा छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै गच्छदार, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातसहित १ सय ७५ जना विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।

आरोपपत्र दायर गरिएकामध्ये ११० जनालाई भ्रष्टाचारको कसुर र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाईएको छ।

अख्तियारले गच्छदार र पूर्वमन्त्री श्रेष्ठविरुद्ध ९ करोड ६५ लाख तथा जोशीविरुद्ध ७ करोड ८ लाख बिगो दाबी गरेको छ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मालपोल कार्यालय, भूमि सुधार तथा व्यवस्था विभाग, नापी कार्यालय, भूमिसुधार कार्यालय, भूमिसुधार तथा व्यस्था मन्त्रालय, भवन निर्माण सम्भार डिभिजन कार्यालय, सहरी विकास तथा भवन निर्माण विभाग, भौतिक योजना तथा निर्माण मन्त्रालय र गुठी संस्थानलगायत विभिन्न कार्यालयका कर्मचारीहरू उक्त मुद्दामा प्रतिवादी रहेका छन्।