दमक । जिल्ला प्रहरी कार्यालय झापाले तस्करी गरी भारत तर्फ लैजादै गरेका गाईगोरु नियँन्त्रणमा लिएसँगै आठ लाख ८० राजश्व सङ्कलन गरेको जनाएको छ।

झापा हुँदै भारत तर्फ निकासी गर्दै गरेका ४४ गाईसहित २२३ गोरु प्रहरीले नियन्त्रणमा लिएको हो। कानूनमा गाई निकासी गर्न प्रतिबन्ध छ भने गोरु भन्सार तिरेर निकासी गर्न पाइने प्रावधान छ।

अबैध ढंगले गाई-गोरु भारत तर्फा तस्करी हुन थालेपछि प्रहरीले गाई गोरु नियन्त्रणमा लिंदै आएको जनाएको छ। दुई सातामा प्रहरीले भारत निकासी हुँदै आएका गाई नियन्त्रणमा लिएर गौशाला र गोरु भन्सार कार्यालय पठाएको छ।

झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार खुला सिमानाको फाइदा उठाउँदै गाईगोरुको व्यापार बढेपछि कुमरखोद, भद्रपुर, गौरीगञ्ज, केचनालगायतका नाकामा कडाइ गरिएको हो ।

यो सँगै प्रहरीले दुई सातामा ३८ लाख ३२ हजार रुपैंया बराबरको अवैध सामग्री समेत बरामद गरेको छ। इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार किराना सामग्री मात्रै ६ लाख ८१ हजार, विद्युतीय सामग्री एक लाख १५ हजार, सवारीसाधन पाटपूर्जा एक लाख २५ हजार, लत्ताकपडा आठ लाख ५४ हजार, सुपारी रु १० लाख २७ हजार ५०० र काठ एक लाख ५० हजार रुपैंया बराबरको सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ।