काठमाडौं, २९ जेठ । आधुनिक नेपालको इतिहासमा गुण दोषका आधारमा सधैं चर्चामा रहिरहने र नेपाली नागरिकले सम्झिरहने थोरै शाह वंशीय शासकहरु मध्येका एक राजा हुन् तत्कालिन राजा महेन्द्र । शाहवंशीय राजामध्ये सबैभन्दा बढी चर्चा पृथ्वीनारायण शाह र महेन्द्रको हुन्छ। पृथ्वीनारायणलाई मुलुक एकीकरणका कारण सम्झिने गरिन्छ । प्रजातान्त्रिक अभ्यास मासेर पञ्चायती पद्धतिको अभ्यास गराएको हुनाले महेन्द्रको चर्चा भइरहन्छ । उनलाई सम्झिने अर्को कारण विश्व मानचित्रमा नेपालको स्थान सुरक्षित राखेकाले पनि हो।

आजको विन्दूबाट इतिहासलाई फर्केर हेर्दा उनले चालेका प्रत्येक कदम दुरदर्शी एवम् राष्ट्रिय भावनाबाट प्रेरित रहेको अनुभव गर्न सकिने। राजा महेन्द्रले २०१८ सालमा नवलपरासीको गैँडाकोटमा उनले ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरे। २०२२ सालमा नवलपरासी जिल्लाको गैडकोटमा महेन्द्र राजमार्गको उद्घाटन गरेका थिए।

महेन्द्रले दक्षिण एसियामा नेपालको पेचिलो भूराजनीतिक अवस्थितिमा उच्च कोटीको कुटनीतिक चातुर्यता र दूरदर्शीता देखाएका थिए। विश्वको आजको बदलिँदो परिस्थितिमा उभिएर इतिहासलाई फर्केर हेर्दा उनले चालेका प्रत्येक कदम दुरदर्शी एवम् राष्ट्रिय भावनाबाट प्रेरित रहेको अनुभव गर्छौं।

त्यसो त महेन्द्रको शासनकाल अगाडि नेपालमा राज्यका न्यूनतम पूर्वधारहरु समेत थिएनन्। राजनीतिक, आर्थिक, प्रशासनिक ढंगबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा नेपाल भारतमा निर्भर रहँदै आएको अवस्था थियो। बिक्रम संवत २००७ सालदेखि २०११ सम्मको बीचमा भारतसितको आर्थिक निर्भरता बढेर ९५ प्रतिशत पुगेको जानकारहरु बताउँदछन्। महेन्द्रले त्यस अवस्थालाई ६० प्रतिशतभन्दा तल ल्याउन सफल भएका थिए। नेपाललाई स्वाबलम्बी अर्थतन्त्र तर्फ उनैले उन्मुख गराएका हुन्। अर्थतन्त्रको जग हालेका हुन्।

राजनीतिक रुपमा महेन्द्रसँग बिमति धेरै कुराहरु होलान् तर सिंहासनमा बसेपछि महेन्द्रले आर्थिक तथा प्रशासनिक संरचनाहरुको निर्माणमा निकै महत्त्वपूर्ण कामहरु गरेका छन्। नेपाल राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगको स्थापना गरेर अर्थतन्त्रलाई व्यवस्थापन लगायत विदेशी राष्ट्रहरुको सहयोगमा भौतिक पूर्वाधारहरु निर्माण गरेर अर्थतन्त्रको जग बसाले। स्वदेशमै उद्योगधन्दाहरु स्थापना गरेर भारतमाथिको नेपालको परनिर्भरतालाई न्यूनीकरण गर्ने दिशामा महत्त्वपूर्ण काम गरेका हुन्।

स्वदेशमा रोजगारी सृजना गर्दै राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउँन वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरु, सबै उनकै पालामा स्थापना भएका हुन्।

भलै आज एकथरी मानिस जो नेपाललाई बिदेशीको गुलाम बनाउँन चाहन्छन। नेपालको स्वतन्त्र हैसियतले तिनलाई आसाध्यै पिडा हुन्छ त्यस्ता व्यक्ति र प्रबृत्तिले महेन्द्रको नाम समेत सुन्न नचाहने र उनका बिषयमा अनर्गल प्रचार गरेर आमसर्वसाधरणको मन-मष्तिस्कमा भ्रम सृजना गर्ने काम गर्दै आएका छन्।

महेन्द्रले स्थापना गरेका यी यावत् उद्योगहरु अहिले बन्द प्राय छन्। नेपालमा बहुदलको स्थापना पछिको परिवर्तित राजनीतिक परिस्थितिमा सरकारको अकर्मन्यता र विदेशी चालवाजीमा परेर धरासायी बनाइएका छन्। जसको परिणाम स्वरूप यतिबेला नेपालका लाखौँ युवा शक्ति बिदेशमा आफ्नो श्रम बनाउन बाध्य भएका छन्।

नेपालको स्वतन्त्र अस्तित्त्व र हैसियतका लागि व्यापार विविधीकरणको प्रयास महेन्द्रले त्यतिबेलै व्यवहारमा ल्याएका थिए। त्यसकालागि कोदारी अरनिको राजमार्गको निर्माण यसको ज्वलन्त उदाहरण हो। महेन्द्रले आफ्नो कुटनीतिक चातुर्यता प्रयोग गरी चौतर्फीरुपमा वैदेशिक सहयोग हासिल गर्न सफल भए। उनले चालेका कदमले अन्तराष्ट्रिय समुदायमा नेपालको स्वतन्त्र अस्तित्त्व प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।

राष्ट्रियताको संवर्द्धनमा राजा महेन्द्र

नेपालको राष्ट्रियताको संवर्द्धनमा शासकको रुपमा महेन्द्रको भूमिका अविस्मरणीय छ। कतिपय मानिसलाई यो कुरा चित्त नबुझ्न सक्छ। किन भने केहि मानिसहरु आजपनि नेपालका मातृ भाषालाई मासेर हिन्दि प्रवर्धन गर्न कम्मर कसेर लागेका छन्। तर, हिन्दी भाषाको एकल दबदबा रहेको समयमा नेपाली भाषालाई राष्ट्रभाषाका रुपमा स्थापित गरेर यसलाई देशव्यापी बनाएका हुन्। नेपालका मातृ भाषालाई संरक्षण गर्ने काम समेत उनले गरेका छन्। पछिल्ला दशकहरुमा नेपाललाई जातीय र भाषिक आधारमामा विभाजन गर्ने दुस्प्रयासहरु भइरहेका छन्।

उनले नेपाल राष्ट्र बैेंकको स्थापना गरि नेपाली मुद्रालाई अनिवार्य गरेका हुन्। त्यतिबेला सम्म नेपालमा ९० प्रतिशत भारतीय मुद्रा चल्ने गर्थ्यो। २०१७ साल अगाडि नेपालको भूमि खरिद-विक्री गर्न भारतीयहरु स्वतन्त्र थिए। महेन्द्रले कुनै पनि विदेशीलाई नेपालको भूमि खरिद गर्न रोक लगाइदिएका हुन्। त्यसैले नेपालमा भारतीय प्रभाव बढाउँन चाहनेहरु विषेस गरेर भारतीय प्रभावमा रहेकाहरु महेन्द्रको बिरोध गर्ने गर्छन।

सामाजिक सुधारका क्षेत्रमा पनि राजा महेन्द्रले प्रशस्तै काम गरेका छन्। बिक्रम संवत २०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐनको घोषणा मार्फत छुवाछुत, जातिय विभेद र लैंगिक भेदविरुद्धको नीति अख्तियार गरेका थिए। बिक्रम संवत २०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै उनले जमिनदारी र बिर्ता प्रथा उन्मूलन गरी किसानलाई मोहियानी हकको सुरुवात गरेका थिए। जातिभेद उन्मूलन गर्न छुवाछूत विरोधी ऐन ल्याइयो। नेपालको आफ्नो पन बचाई राख्न धर्म–संस्कृति र परम्पराको रक्षा गर्ने अभियानको सुरुवात उनैले गरेका थिए।

त्रिभूवन विश्वविद्यालयको आधुनिकीकरण गर्दै उच्च शिक्षा नेपालमै हासिल गर्ने अवस्था सिर्जना गरे भने पाठ्यक्रमबाट भारतीय पुस्तकहरु विस्थापित गरेका थिए। उनले नेपाल स्वाधीन राष्ट्र हो भन्ने कुरा संसरलाई बुझाउन राजा महेन्द्रले ठुलो योगदान पुराए। आफ्नो जीवनकालमा पैतालिस वटा देशसँग राजा महेन्द्रले कूटनीतिक सम्बन्ध स्थापना गर्न सफल भएका थिए।

युरोप, अमेरिका, अफ्रिका र एसियाका धेरै राष्ट्रको भ्रमण गरेर एउटै सन्देश दिए, ‘चीन र भारतका बीचमा हामी छौँ, तर कतै ढल्केका छैनौँ, असंलग्न बसेका छौँ र असंलग्न रहन्छौँ, आफ्नो निर्णय आफैं गर्छाैं।’ यी सबै कुरा भारतलाई मन परेन। त्यसैले राजा महेन्द्रमाथि चौतर्फी रूपमा वैचारिक हमला गराएको थियो।

अन्तर्राष्ट्रिय जगतमा नेपाललाई स्थापित गराउन महेन्द्रको योगदान अविस्मरणीय छ। उनकै समयमा ०१२ सालमा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लिएको हो। राजा बिरेन्द्रले राज्याभिषेकको समयमा राखेको शान्ति क्षेत्रको प्रस्ताव महेन्द्रको सोचको उपज हो। उनले परराष्ट्र नीतिमा पञ्चशीलको सिद्धान्तलाई अंगीकार गर्दै उनले छिमेकी देशहरुसित दौत्य सम्वन्ध बनाएर त्यसलाई सन्तुलनमा राखेका हुन्। जुन आज पर्यन्त हामीले निरन्तरता दिंदै आएका छौं।

बिक्रम संवत २०१३ सालमा राष्ट्रिय योजना आयोगको स्थापना गरेका उनले ०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र शाही नेपाल वायुसेवा निगमको स्थापना गरेका हुन्।सरकारी कर्मचारीको वृत्ति विकास गर्न नेपाल निजामती सेवा ऐनको सुरुवात गरे। भारतीय मिलिटरी मिसन मार्फत नेपाली सेनाको गिराइएको मनोबल उकास्ने काम महेन्द्रले गरेका हुन्।

उनले २०२८ सालमा नेपाल तिब्बत सिमामा राखिएका भारतीय सैनिकका १७ वटा चेकपोष्टहरु हटाएर नेपाल बाट भारतीय सेना फिर्ता पठाउन सफल भए। अन्यथा त्यसको ठुलो मूल्य नेपाल र नेपाली जनताले चुकाउन बाध्य हुनुपर्थ्यो। नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकमा भारतीय राजदुतको हस्तक्षेपलाई बन्दगराएका महेन्द्रले नेपालमा राष्ट्रवादको लहर सृजना गर्न सफल भएका थिए।

एक वाक्यमा भन्दा, महेन्द्रले राज्यारोहणपछि भारतीय पक्षलाई नचिढ्याइ आफ्नो देशलाई उसको छत्रछायाबाट मुक्ति दिलाएका शासकका रुपमा नेपाली जनताले उनलाई सधैं सम्झिरहने छन्।