काठमाडौं, १४ चैत्र । आफ्नै एक अनुयायी महिलालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका विवादास्पद धर्मगुरु ‘सिद्धबाबा’ भन्ने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगरले १५ दिनभित्र अदालतमा उपस्थित गराउन शुक्रबार आदेश दिएको छ।
न्यायाधीशद्वय प्रेमराज ढकाल र रेनुका शाहको संयुक्त इजलासले १५ दिनभित्र झगडिया झिकाउने आदेश गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले बताए।
‘सुरु जिल्ला अदालत सुनसरीको फैसला उपर भएको पुनरावेदनमा मिसिल तामोली गरी शुक्रबार पेशी तोकिएको थियो,’ उनले भने, ‘पेसीमा न्यायाधिसद्वयको संयूक्त इजलासले प्रत्यार्थी सिद्धबाबा भन्ने कृष्णबहादुर गिरीलाई बाटोको म्यादबाहेक १५ दिनभित्र उपस्थित गराउने आदेश भएको छ।’
म्याद जारी भएपछि उनी उपस्थित नभएको अवस्थामा प्रहरी लगाएर झिकाई अदालतमा पुन: बयान लिएपछि मुद्दाको प्रक्रिया अघि बढ्ने सुवेदीले बताए ।
‘सिद्धबाबा’लाई गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले महिलाको चरित्रमाथि प्रश्न उठाउँदै सहमतिमा भएको सम्पर्कलाई करणी भन्न नमिल्ने फैसला गरेको थियो । फैसलाको पूर्णपाठमा जाहेरवाली र प्रतिवादीबीच आदान–प्रदान भएका म्यासेजहरूबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दाबी बमोजिम जबर्जस्ती करणीको कसुर कायम गर्न मिल्ने नदेखिएको उल्लेख छ ।
फागुन २८ गते उच्च सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदनका लागि निवेदन दर्ता गराएको थियो ।
२०७६ कात्तिक ४ गते राती सिद्धबाबाले करणी गरेको भनी २०७६ मंसिर ११ गते प्रहरीमा जाहेरी दर्ता भएको थियो । अदालतले सफाइ दिएपछि गिरी चतरास्थित आश्रममा बस्दै आएका छन् ।