विराटनगर, २९ पौष । विराटनगर विमानस्थललाई अत्याधुनिक एवम् अन्तर्राष्ट्रियस्तरको बनाउने काम शुरु भएको छ। अहिलेको भएको भन्दा ३ हजार मिटर रन वे विस्तारका लागि सर्वेको काम पूरा भइ जग्गा अधिग्रहण प्रक्रिया शुरु भएको हो।

साविकको १५ सय मिटर रन–वेको विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन असोजमा तीन तहका सरकारबीच समझदारी भएको थियो।

अब विराटनगर विमान्नस्थल काठमाडौंको त्रिभुवन विमानस्थल र भैरहवाको गौतमबुद्ध विमानस्थलकै स्तर हुने विराटनगर विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी बताए।

खरेलका अनुसार केन्द्र, प्रदेश र विराटनगर महानगरपालिकाबीच भएको सम्झौताअनुसार विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार मिटर पुर्‍याउने तथा अन्य आवश्यक पूर्वाधार बनाएर अन्तर्राष्ट्रियस्तरको बनाइनेछ।

विमानस्थल विस्तारका लागि मोरङ र सुनसरी जिल्लाको जमिन अधिग्रहण गर्न सर्वे टोलीले काम पूरा गरेको खरेलले जानकारी दिए।

दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालय, स्थानीय तह र प्रहरी प्रशासनको बैठक गरेर दुई जिल्लामा पर्ने जमिनको ‘बाउण्ड्री फिक्स’ (बेन्च मार्क) गर्ने निर्णयअनसार सर्वे टोलीले काम गरेको खरेलले बताए।

सर्वे टोलीले साविक विमानस्थललाई विस्तारका लागि पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४ बिघा, उत्तरतर्फ ३५.८१ बिघा र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३.७० बिघा जग्गा अधिग्रहणका लागि ‘बाउण्ड्री फिक्स’ (बेन्च मार्क) गरेको छ। बेन्च मार्क गरिएकामा स्थानीयका ३०० घर परेका छन्।

विराटनगर विमानस्थल विस्तारमा २८ सय मिटर दूरीमा केशलिया खोला छ भने, साविक विमानस्थलको अन्तिम बिन्दुबाट ८ सय मिटर दूरीमा रहेको केशलिया वारि मोरङ र पारि सुनसरीको बर्जु गाउँपालिका पर्दछ। केशलिया खोलाबाट सुनसरीतर्फ ८ सय मिटर पश्चिमतिर जग्गा अधिग्रहण गर्नुपर्ने विमानस्थल प्रमुख खरेलले जानकारी दिए।

उनका अनुसार विमानस्थल तीन हजार मिटर लम्बाईमा विस्तार भएपछि भीओआर–डिएमीई (भेरी हाई फ्रिक्वेन्सी ओमीनी डाइरेक्सनल रेडियो रेन्ज अर्थात् डिस्टेन्न मेजरिङ्ग इक्यूपमेन्ट) टावर स्थापना गर्ने क्षेत्रसमेत आवश्यक पर्नेछ।

साविक विराटनगर विमानस्थलको १५ सय मिटर रन–वेको अन्तिम बिन्दुबाट चार सय २० मिटरको दूरीमा टावर राखिएको छ। विमानस्थल पूर्ण विस्तार हुँदा भीओआर–डिएमी टावर राख्ने र विराटनगर चक्रपथ डाइभर्सन गर्नुपर्ने जग्गासमेत अधिग्रहण गरिने भएको हो।

यसका लागि कुल लम्बाई तीन हजार ६ सय मिटर आवश्यक पर्नेछ। विमानस्थलको पश्चिमतर्फ १.५ किलोमिटर लम्बाईसम्मको जमिन अधिग्रहण गर्नुपर्ने भएकाले त्यहीबीचमा चक्रपथ भेटिनेछ।

साविक विमानस्थल ११९.९५ बिघा क्षेत्रफलमा छ। जसको रन–वे एक हजार पाँच सय मिटरको छ। त्यसबाहेक सरकारले १२६.४६ बिघा क्षेत्रफल जग्गा अधिग्रहण गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी प्राधिकरणलाई दिइएको छ।

हालको विमानस्थलमा ९५ देखि १४० मिटरसम्मको रन–वे स्ट्रिप रहेकाले त्यसलाई तत्काल बढाउनका लागि विमानस्थलको पूर्वतर्फको भागबाट उत्तर–दक्षिणको जग्गा अधिग्रहण गरिनेछ।

पश्चिम क्षेत्रमा विमानस्थलको एप्रोज लाइट भएका कारण तत्काल विस्तार गर्न नसकिने भएकोले यसलाई दोस्रो चरणका लागि राखिएको छ। जग्गा अधिग्रहणपछि एप्रोज लाइटलाई सारेर मात्रै पश्चिमतर्फ विस्तार गरिने योजना छ।