काठमाडौं, १४ पौष । चिनी मिलले लामो समयदेखि उखुको बक्यौता रकम नदिएपछि आन्दोलनका लागि काठमाडौं आएका सर्लाहीका एक उखु किसानको निधन भएको छ।
सर्लाहीको रामनगर गाउँपालिकाको छोटवल गाउँका ६५ वर्षीय नारायण राय यादवले रकम लिन नपाउँदै उपचारका क्रममा मंगलबार बिहान बाँसबारी स्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो।
उखु किसान आन्दोलन समितिका राकेश मिश्रका अनुसार जोरपाटीको कृष्णमन्दिरमा बस्दै आएका यादवलाई सोमबार बेलुका हृदयघात भएको हो।
उनलाई लगत्तै नजिकैको अस्पताल लगिएको थियो। त्यसपछि थप उपचारका लागि राति नै गंगालाल अस्पताल ल्याइएकोमा बिहान निधन भएको हो।
उनको परिवारका सदस्य काठमाडौं आउँदै गरेको र त्यसपछि मात्रै मिलबाट पाउनु पर्ने उनको बक्यौता रकम कति थियो भन्ने यकिन हुने मिश्रले बताए।