दमक, २२ असोज । नापी कार्यालय दमकका कर्मचारी विनोद मण्डल फरार भएका छन्। दमक ८ बालुवाटारमा गगन पुरीको समूहले घोटाला गरेको करिब ३० बिगाहा जग्गा उनले पनि हात पारेको पत्ता लागेको छ। त्यसपछि उनी फरार भएको प्रहरी श्रोतले जानकारी दिएको छ।

बालुवाटारमा सरकारी जग्गा गगन पुरीको समूहले घोटाला गरेर व्यक्तिको नाममा सारेपछि उनीहरु विरुद्ध नेपाल प्रहरीको सिआईबीले झापा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। त्यसबेला मण्डल पनि गिरफ्तार भएका थिए।

सो जग्गा विगतमा ककसको नाममा सारिएको थियो, अहिले कसको नाममा कीर्ते गरेर सारियो भन्ने विषयमा सिआईबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गहिरोसँग छानविन गरेको थियो। त्यस क्रममा विनोदको नाममा पनि जग्गा भएको पत्ता लागेको हो। लगत्तै विनोद फरार भएका हुन्। सो घोटाला काण्डका नाइके नेकपाका स्थानीय नेता गगन पुरी अहिले ‘सम्पर्क बाहिर’ छन्।

सिआईबी र अख्तियारले घोटाला काण्डको छानविन तिब्र बनाउने क्रममा नापी कार्यालयका पूर्व हाकिम शेषकुमार श्रेष्ठ र पन्जियार थरका अर्का हाकिम पनि तानिएका छन्। त्यसैगरी नापी र मालपोतका केही बहालवाला कर्मचारीमाथि पनि सिआईबी र अख्तियारको दमकमा खटिएर गएको टोलीले निगरानी बढाएको श्रोत बताएको छ।

जग्गा घोटाला काण्डमा गगन पुरी समूहको मिलेमतोमा काम गरेर जग्गा हात पारेका मालपोतका कर्मचारी डिल्ली कोइराला पनि सम्पर्क बाहिर भएका छन्। कर्मचारी भएपनि डिल्ली नेकपामा सक्रिय छन्। यो घोटाला काण्डमा नेकपाका स्थानीय नेताहरुको ठूलो समुहको संलग्नता देखिएको छ।

जग्गा घोटाला काण्डको छानविन अगाडि बढ्दै जाँदा वडा नम्बर ८ का अध्यक्ष पशुपति गौतमका छोरी ज्वाईं पनि अनुसन्धानको घेरामा तानिएको श्रोतले बताएको छ। जगदीश आचार्य र पवित्रा आचार्यसँग गगन पुरीले बैंकबाटै आर्थिक कारोबार गरेको पाइएको छ। यो आधारमा मात्र उनीहरु शंकाको घेरामा परेका होइनन्। विगतमा गगन पुरी फरार रहँदा काठमाडौं आएर जगदीशको घरमा लुकेर बसेको प्रहरीले पत्ता लगाएको छ।

अख्तियारले गरेको अनुसन्धानमा वडा अध्यक्ष पशुपति गौतम शंकाको ठूलो घेरामा परेको जानकारी प्राप्त भएको छ। बालुवाटारमा घोटाला गरिएको जग्गामध्ये करिब १० कठ्ठा जग्गा वडाअध्यक्षको परिवारको नाममा गएको पाइएको छ। अख्तियारको दमकमा खटिएको टोलीका एक कर्मचारीका अनुसार पशुपति गौतमले दमक बालुवाटारको जग्गाको मूल्य जिल्ला अदालतलाई १० हजार रुपैयाँ कठ्ठा पर्छ भनी लेखेको पत्र फेला परेको छ। सोही जग्गा बैंकहरुलाई चाहिँ कठ्ठाको करोडौं रुपैयाँ पर्छ भनी वडाअध्यक्षले पत्र लेखेका छन्।

यो समाचार तयार पार्दासम्म स्थानीय नेता गगन पुरी अझै सम्पर्क बाहिर रहेका छन्। नेकपा दमक नगर कमिटिको कार्यालयमा आज बिहान गगन पुरी पीडितहरु पुगेको र उनीहरुले गगन सम्पर्कमा नआएको भन्दै गुनासो गरेका छन्। गगनले बालुवाटारको जग्गा बेच्नका लागि घरायसी कागज गर्दै धेरैसँग रकम उठाएका छन्।

रकम पनि फिर्ता नपाएको र जग्गा पनि नपाएको भन्दै पीडितहरु जुर्मुराउन थालेका हुन्। नेकपाको कार्यालयमा एक पीडितले गुन्द्रुक खबरलाई भने, ‘अब मलाई जग्गा चाहिएन। त्यो जग्गा लिएर जेल जानु छैन। मलाई गगनले रकम फिर्ता दिनुपर्छ।’