काठमाडौँ, १५ असार । नेपाल कृषि प्रधान देश भएकाेले हरेक वर्ष झैँ यस वर्ष पनि असार १५ गते मनाइने धान दिवस सोमबार खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ।

नेपालमा विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि नेपालमा राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीपाती गर्नमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

यस बेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन्।