काठमाडौँ। विश्वभरी नै फैलिरहेको कोभिड–१९ को सम्भावित संक्रमणबाट बच्‍न पूर्ण बैठक बस्‍न तय गर्दै सर्वाेच्च अदालतले शुक्रबार मुद्दाको सुनुवाइ स्थगित गरेको छ।

कोरोनाको सम्भावित संक्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीश सहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक बस्‍ने तय भएको हुनाले शुक्रबारकाे सुनुवाइ स्थगित गरिएकाे सूचना अधिकारी देवेन्द्र ढकाले जानकारी दिए। शुक्रबार बिहान ११ बजे बस्‍ने तय भएको पूर्ण बैठकले अदालत बन्द गर्ने वा अति आवश्यक बाहेक अरु बन्द गर्ने भन्‍ने विषयमा निर्णय गर्ने समेत ढकालकाे भनाइ रहेकाे थियाे।

काेराेनाकाे संक्रमणबाट सतर्क हुन अत्यावश्यक काम बाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न नेपाल बार एशाेसिएशन र सर्वाेच्च अदालत बार एशाेसिएशनले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालत समक्ष आग्रह गरेका थिए।